आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पुँजीको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन, अवकाश तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न एवं पुँजीबजारमा गतिशिलता ल्याउने मुल उद्धेश्य राखेर नागरिक लगानी कोषको स्थापना नागरिक लगानी कोष ऐन, २०४७ अनुसार वि.सं. २०४७ चैत्र ४ गते भएको हो । यसले वि. सं. २०४८ माघ १ गते देखि औपचारिक रूपमा आफ्नो कारोबार संचालनमा ल्याएको हो । कोषको कार्यालय शुरुमा थापाथली स्थीत जेसिस भवन छेउमा रहेको र बिभिन्न समयमा बिभिन्न स्थानहरुमा सर्दै बि.स.२०६७ सालमा कोषले तत्कालिन जनकपुर चुरोट कारखानाको नयाँ बानेश्वर स्थित जग्गा तथा भवन खरीद गरी आफ्नो केन्द्रीय कार्यालय सोहि स्थानमा सरेको थियो । हाल कोषले नयाँवानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र को पुर्व पट्टी सेवाग्राहीमैत्री, सुविधा सम्पन्न आफ्नै भवनबाट केन्द्रीय कार्यालय तथा सेवा संचालन गर्दै आएको छ ।कोषले काठमाडौं बाहेक बिराटनगर, जनकपुरमा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालय स्थापना गरी सेवा प्रवाह गरी रहको छ। यस प्रकार कोषका कार्यालयहरु सवै प्रदेशमा रहेका छन।
स्थापनाको बेला कोषको चुक्ता पूँजी रु २ करोड ४० लाख रहेकोमा हाल उक्त चुक्ता पूँजि बृद्धि भई रु ६ अर्व ८० करोड पुगेको छ ।
कोषले नागरिक लगनी कोष ऐन, २०४७ ले निर्दिष्ट गरेका कार्यक्षेत्रहरु भित्र रही आफ्नो कार्य संचालन गरेको छ।
नागरिक लगानी कोष ऐन, २०४७ ले कोषको काम, कर्तब्य र अधिकार देहाय बमोजिम तोकेको छ :
क) बचत सम्बन्धी कार्यः
- योगदानमा आधारित निबृत्तीभरण, स्वास्थ्य बिमा जस्ता सामाजिक सुरक्षाको श्रेत्रमा आफैले वा अन्य संस्थासँगको सहकार्यमा तोकिए बमोजिमका कार्यक्रम सञ्चालन गर्ने,
- निजामती कर्मचारी, सैनिक तथा प्रहरी कर्मचारी, शिक्षक तथा अन्य संगठित संस्थाका कर्मचारीको योगदानमा आधारित सावधिक जीवन बिमा कोष सञ्चालन गर्ने,
- तोकिए बमोजिमका उपदान कोष र पेन्सन कार्यक्रम सञ्चालन गर्ने,
- स्वेच्छिक वा अनिवार्य अवकाश कोष तथा लगानीकर्ता हिसाव योजना सञ्चालन गर्ने ।
ख) धितोपत्र सम्बन्धी कार्यः
- बिभिन्न प्रकारका धितोपत्रमा लगानी र पुनर्लगानी गरी धितोपत्रको स्वामित्व ग्रहण गर्ने,
- पहिलो वा दोश्रो बजारमा लगानी गरी धितोपत्रहरुको खरीद गर्ने तथा थोक बिक्रेताको कार्य गर्ने,
- कोषद्धारा सञ्चालित अवकाश कोष तथा लगानीकर्ता हिसाव योजनामा सहभागीलाई धितोपत्र खरीद गर्न ऋण तथा सापटी दिने,
- संङ्गठित संस्थाहरुलाई धितोपत्र जारी गर्न प्रोत्साहित गर्ने तथा प्राथमिक निष्काशन र विक्री प्रवन्धकको रुपमा आवश्यक सेवाहरु प्रदान गर्ने,
- पुँजीबजार बिकासको लागि आवश्यकता अनुसार सहायक कम्पनी वा संस्था स्थापना गर्ने,
- आफैं वा अन्य मर्चेन्ट वैंकसँग मिली सेयर प्रत्याभुति गर्ने,
- नेपाल राष्ट्र बैंकको स्वीकृति लिई कुनै स्वदेशी तथा विदेशी कम्पनी वा संङ्गठित संस्थासँगको सहकार्यमा विदेशी धितोपत्रमा लगानी गर्ने,
- पुँजीबजार सम्बन्धी परामर्श सेवा प्रदान गर्ने।
ग) लगानी तथा कर्जा सम्बन्धी कार्य:
- बाणिज्य वैंकको नगद प्रमाणपत्र वा समय सीमाको मुद्धती निक्षेपमा लगानी गर्ने,
- 'क' बर्गको मान्यता प्राप्त कुनै बाणिज्य वैंकको जमानतमा कोषले तोकेको शर्तमा कुनै संगठित संस्थामा ऋण लगानी गर्ने,
- बाणिज्य वैंक, बित्तीय संस्था, बिमा कम्पनी वा त्यस्तो संस्था वा कम्पनीको शेयरमा लगानी गर्ने,
- तीनै तहको सरकार र निजी साझेदारी मोडेलमा सम्पन्न हुने पुर्वाधार निर्माणका आयोजनामा लगानी गर्ने,
- सरकारद्धारा निष्काशित ऋणपत्रमा लगानी गर्ने ,
- नागरिक एकांक योजनामा संकलित रकम नेपाल राष्ट्र वैंकको स्वीकृति लिई कुनै स्वदेशी तथा बिदेशी कम्पनी वा संगठित संस्थासँगको सहकार्यमा बिदेशी धितोपत्रमा लगानी गर्ने ,
- सरकारी स्वामित्व वा नियन्त्रण भएका जलबिद्युत उत्पादन, प्रसारण र अन्य पुर्वाधार निर्माणमा लगानी गर्ने ,
- संगठित संस्थाले जारी गरेको डिवेञ्चरमा लगानी गर्ने,
- प्रचलित कानून बमोजिम संस्थापित संगठित संस्थाहरुलाई कर्जा दिने,
- कोषका सहभागी व्यक्तिलाई विभिन्न प्रकारका कर्जा योजनाहरु संचालन गरी कर्जा प्रवाह गर्ने,
- कुनै वाणिज्य बैंक वा वित्तीय संस्थाहरुसंग मिलि सह-वित्तियकरणको आधारमा संयुक्त रुपमा कर्जा दिने,
- संगठित संस्थाहरुलाई ब्रीज फाईनान्सिङ्गको सुविधा वा सापटी प्रदान गर्ने।
घ) अन्य कार्यहरु:
- कुनै संगठित संस्थाले निष्काशन गरेको वा गर्न लागेको डिवेञ्चरको सम्बन्धमा कोषले ट्रष्टीको कार्य गर्ने,
- कोषले कस्टोडियनको कार्य गर्न (स्वदेशी वा बिदेशी लगानीकर्ताको तर्फबाट तिनिहरुको धितोपत्रको जिम्मा लिने, खरीद बिक्री गर्ने, गराउने वा खरीद बिक्री भएका धितोपत्रको नामसारी, दाखिल खारेज र ब्याज वा मुनाफा संकलन गर्ने ,
- बित्तीय ब्यवस्था, बचत तथा लगानीका वैकल्पिक अवसरहरुका वारेमा दक्ष परापर्श सेवा प्रदान गर्ने।
कोषले लगानीकर्ताहरुलाई बचतका लगि प्रोत्सहित गर्न विभिन्न प्रकारका कार्यक्रमहरु मुलत: बचत वृद्वि अवकास कोष, लगानीकर्ता हिसाब योजना, उपदान कोष योजना, नागरिक एकांक योजना, बीमा कोष योजनाहरु संचालन गर्दै आएको छ।
सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्न, त्यस्तो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्न र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयपनलाई सहजीकरण गर्ने उद्देश्यले कोषको बचत कार्यक्रमको दायरामा नसमेटिएका नेपाली नागररिकलाई आवद्व गराई बृहत रुपमा नागरिक पेन्सन योजना समेत कोषले संचालनमा ल्याएको छ।
यसका अत्तिरिक्त लगानीका अवसरहरु वृद्वि गरी पूंजीबजार र देशको आर्थिक विकासमा पनि कोषले योगदान पुर्याउदै आएको छ।
कोषले संचालन गरेका विभन्न योजना तथा कार्यक्रमहरु देहाय बमोजिम रहेका छन:
क) कर्मचारी बचतबृद्धी अवकाश कोष
ख) नागरिक एकांक योजना
ग) उपदान तथा पेन्सन कोष
घ) लगानीकर्ता अवकाश कोष योजना
ङ) नागरिक पेन्सन योजना
च) नार्क कर्मचारीको सावधिक जीवन वीमा कोष
छ) राष्ट्र सेवक कर्मचारीको सावधिक जीवन वीमा कोष
(निजामती कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभागका कर्मचारी, स्थानिय तहका कर्मचारी)
उपरोक्त कार्यक्रम तथा योजनाहरुको बारेमा बिस्तृत जानकारी यस वेवसाईटको "योजना र कार्यक्रमहरू" मेनु बाट प्राप्त गर्न सकिन्छ।